
बलिउड अभिनेत्री मलाइका काठमाडौंमा


बलिउड अभिनेत्री, फेशन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेशन रनवेमा शो–स्टपरको रूपमा भाग लिन मलाइका नेपाल आएकी हुन्।
मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् जहाँ उनले संक्षिप्त मिडिया वार्तालापसमेत गरिन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुशी लागेको बताइन् र निम्तोका लागि धन्यवादसमेत दिइन्। यसअघि पनि नेपाल आएकी उनले यसपटकको बसाइमा नेपालबारे थप बुझ्ने इच्छा रहेको बताइन्।
यसपटकको नेपाल बसाइ छोटो हुने तर अधिकांश समय उक्त इभेन्टमा बिताउने मलाइकाको भनाइ छ।
रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुशी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेशन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन्। नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो। बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेशन रनवेमा मलाइका शो–स्टपर हुनेछिन् भने नेपाली मोडलहरूले र्याम्प नाप्नेछन्।
तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ।
प्रतिक्रिया