वीरगञ्जमा कोठाभित्र निस्सासिएर दुई भारतीयको मृत्यु
पर्साको वीरगञ्जमा कोठाभित्र निस्सासिएर मंगलबार मध्यराति दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित त्रिपति ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपोमा काम गर्ने दुई जना भारतीय नागरिकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारत विहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने वर्ष २९ का पवित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर वर्ष ३० का मिथलेश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।
डीएसपी गिरीका अनुसार घटनाबारे बुधबार बिहानमात्र जानकारी भएको हो।
बुधबार बिहान १० बजे सो डिपो रेखदेख गर्दै आएका उनीहरू डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र मृत भेटिएका हुन्। मंगलबार झ्याल ढोका बन्द गरी सुतेका उनीहरू बुधबार बिहान १० बजेसम्म बाहिर ननिस्केपछि स्थानीय र प्रहरीको टोलीले झ्याल ढोका फोडेर हेर्दा मृतावस्थामा भेटिएका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू तगारीमा पत्थर कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेकोमा अक्सिजनको कमी भई निस्सासिएर उनीहरूको मृत्यु भएको खुलेको छ।
नारायणी अस्पतालबाट चिकित्सकसहित घटनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगेर लास जाँच प्रकृति मुचुल्कालगायतको कार्य सम्पन्न भएको र थप अनुसन्धान जारी रहेको डीएसपी गिरीले बताए।
प्रतिक्रिया