टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सव हुने

यस वर्षको माघी पर्वको अवसरमा थारू राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौं’ हुन लागेको हो।

थारू कल्याणकारिणी सभाको संयोजनमा थारू राष्ट्रिय माघी महोत्सव–२०७९ मूल आयोजक समितिको आयोजनामा पुक्ष्स ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ। माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हाम्रो अभियान : न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सव माघ १ गते मध्याह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने मूल आयोजक समिति सदस्य कानूनलाल चौधरीले जानकारी दिए।

महोत्सवमा थारू सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्‍यालीलगायतका विभिन्न कार्यक्रमहरू रहेको उनले बताए। खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीलगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिए।

उनका अनुसार पुस ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल र्‍याली सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेषभूषा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ। महोत्सवको व्यवस्थापनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मूल आयोजक समिति सदस्य चौधरीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर