विज्ञको आग्रह, ‘विपद्को जोखिम बढेको छ, सावधानी अपनाउनू’

विपद् विज्ञहरूले नेपालमा विपद्का जोखिमहरू बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा माननीयज्यूहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विपद् विज्ञ डा. रञ्जनकुमार दाहालले नेपालमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाहरू बढिरहेकाले आवश्यक सावधानी अपनाउन भनेका हुन्।

उनले नेपालमा जलवायु परिवर्तनका कारण दूधकोशी, खुम्बु, लिखु, मेलम्चीलगायतका नदीका मुहानहरूमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताए। उनले सरकारले आवश्यक नीति ल्याएर विपद्का घटनाहरू कम गर्ने कुरामा ध्यान दिनुपर्ने बताए।

उनले भौतिक संरचनाहरू बनाउँदा पनि दूरगामी अध्ययन हुन नसक्दा यस्ता समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेको बताए। विपद् जोखिम न्यूनीकरणका लागि बाँकी रहेका जोखिमहरूको पहिचान गरेर विस्तृत योजना बनाई स्थानीय निकायहरूसँगको समन्वयमा अघि बढ्न उनले सुझाव दिए।

उनले विपद् जोखिम न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताए। उनले स्थानीय निकायहरूले आफ्नो ठाउँका विपद्हरू बुझेर काम गर्ने हो भने आगामी दिनमा विपद्जन्य घटनाहरूलाई कम गर्दै जान सकिने बताए।

विपद् विज्ञ दाहालले विपद्का बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपद्का बारेमा अध्ययन अध्यापन गराउन आवश्यक रहेको बताए। उनले प्रत्येक पालिकामा भूगर्भविद् इन्जिनियर आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर