प्रभु र सेञ्चुरी बैंकले थाले एकीकृत कारोबार

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी २२ अर्ब, कुल निक्षेप दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै ग्राहक संख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटीएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ।

एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अंकको खाता नम्बर परिवर्तन भई १६ अंकको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन्। चालु आर्थिक वर्षको पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक एक आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चारवटा कायम भएका छन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आईएमई बैंक लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्। त्यस्तै कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए।

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन्। त्यस्तै हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन। दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएका छन्। आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ। त्यस्तै लक्ष्मी बैंक र सनराइज बैंकले पनि एकापसमा मर्जरमा जाने समझदारी गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *