कांग्रेसमा विश्वासको मतबारे पदाधिकारी बैठकमा जुटेन सहमति, कार्यसम्पादनले निर्णय गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसलाई सकस परेको छ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा विश्वासको मत दिने प्रस्ताव गरे पनि नेताहरूबीच मत बाझिएको हो।

देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले विश्वासको मतबारे निर्णय गर्न नसकेपछि बिहान साढे ११ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। सो बैठकमा थप छलफल हुनेछ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू विश्वासको मत दिने पक्षमा छन्। तर, महामन्त्री गगन थापालगायतका नेताहरू विश्वासको मत नदिई प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन्।

विवाद बढेपछि महामन्त्री थापालगायतका नेताहरूले कार्यसम्पादन समितिको बैठक माग गरेका थिए। त्यसपछि देउवाले दलको बैठक ४ घण्टा पछि सारेर कार्यसम्पादन समितको बैठक बोलाएका हुन्।

कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए।

कांग्रेसको बैठक लम्बिएपछि बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो १ बजेका लागि सारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर