सरकारलाई डा. गोविन्द केसीको प्रश्न, ‘सरकारमा अपराधीको ठाउँ कहाँ हो ?’

निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । आइतबार महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू, महिलाहरू सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई ? के महिला एकल हुनु पाप हो ? लगायत लेखिएका प्लोकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।

विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताए । उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताए ।

उनले देशमा अपराधीको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गरे । डा. केसीले राजनीति शुद्धीकरण हुनुपर्नेमा भ्रष्टीकरण र अपराधीकरण भइरहेको बताए । उनले राजनीति अपराधीहरूले चलाउने ठाउँ भएको बताए ।

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् । उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् ।

उनले भनिन्, ‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ । जसकारण पीडकले सजाय पाउन सकेको छैन, पीडित मर्नु परिरहेको छ । अनुसन्धानमा प्रहरीले समेत प्रभाव पारेको छ ।’

आन्दोलनकारी महिला अधिकारकर्मीहरूले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले आज माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रूपमा सरकारको खोजी गरेका थिए ।

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वबदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर