नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनीलाई हराउँदै जनकपुर क्वालिफायरमा

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा जनकपुर लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा र जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए ।

जितका लागि १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ विकेट लिए भने समिउल्लाह शिनवारीले २ विकेट झारे । त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रनको योगदान दिए ।

त्यस्तै शरफुदिन असरफले ३४ रन बनाए भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए भने प्याट ब्राउन र इशान पाण्डेले समान १/१ विकेट लिए ।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सातमा जित र तीनमा हारसहित जनकपुर १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर