लुम्बिनीमा पुस २७ भित्र सरकार गठनका लागि आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।
उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश सभाका बहुमत सदस्यको दाबी पेस गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गरेको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।
लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि यही पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाइएको छ ।
लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि ४४ जना सदस्य आवश्यक हुन्छ । लुम्बिनी प्रदेशको पहिलो पार्टी नेकपा (एमाले) का २९ जना सदस्य छन् । त्यस्तै नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का नौ, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार/चार, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन/तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका एक/एक जना र तीन जना स्वतन्त्र रहेका छन् । स्वतन्त्र एक सदस्य भने माओवादीमा फर्केको बताइएको छ ।
प्रतिक्रिया