सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय
जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ ।
जनता समाजवादी पार्टीको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पारे ।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता सुमनले जानकारी दिए ।
बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनहरुलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ । गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन् ।
जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए ।
प्रतिक्रिया