गृह मन्त्रालयको सभाकक्षमा इमर्जेन्सी एक्जिट बनाउन मन्त्री लामिछानेको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायहरूलाई आग्रह गरे । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलहरूको निर्माणमा ध्यान दिन पनि सचेत गराए । उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यकता समेत औंल्याए ।

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए । उनले ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाइ गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको पनि बताए ।

मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्मरण गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर