पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धिको ढोका खोल्यो : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारणको ढोका खोलेको बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपश्चात् न्यूज एजेन्सी नेपालसँग पोखरामा कुराकानी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरू निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन् ।

उनले विमानस्थलमा व्यावसायिक उडान सुरु भए पनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरू बनाउन बाँकी रहेको बताए । उनले धेरै दुःख गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएकाले व्यावसायिक उडान सञ्चालनमा आउँदा खुशी भएको पनि बताए ।

उनले नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो नीतिगत निर्णय २०६४ सालमा आफू पर्यटनमन्त्री भएको बेला भएको दाबी गरे । उनले पर्यटनमन्त्री भएको बेला पोखरा अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीतिगत निर्णय गरेको उल्लेख गरे । पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा विवाद मिलाउने काममा समेत आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले पाँच वर्ष अगाडि गण्डकी प्रदेश बन्दा गण्डकी प्रदेश सरकारको मुख्य आधार पर्यटनलाई मानेकाले त्यसको आधार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताए ।

उनले अब पोखरा नजिकका मनाङ, मुस्ताङ, ढोरपाटनलगायतका स्थानहरूमा विमानस्थलहरू नियमित रूपमा चलाउनुपर्ने आवश्यकता रहेको बताए । उनले पोखरा घुम्न आउने पर्यटकहरूलाई धौलागिरि, मनास्लु र अन्नपूर्ण क्षेत्रमा समेत जानसक्ने अवस्था बनायो भने पर्यटनको माध्यमबाट पोखराको मात्रै नभएर समग्र गण्डकी क्षेत्रको विकास हुनसक्ने बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता एक वर्षको १० लाख रहेको भन्दै पाँच वर्षभित्र आफ्नो प्रदेशको २५ लाख जनसंख्या बराबरको पर्यटक पुर्‍याउने अभियानको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उपमहासचिव गुरुङले अब बाँकी रहेका अन्य विमानस्थलहरू पनि सञ्चालन गरेर अन्य पूर्वाधार बनाएर भारतीय, चिनियाँ र युरोपका पर्यटकहरू धेरै ल्याउनसके पर्यटकको माध्यमबाट गण्डकीको समृद्धि सम्भव रहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलबाट यति, बुद्ध, सूर्य, श्री एयरलाइन्स, हिमालयन, समिट र गुणलगायतका एयरलाइन्सले आइतबारदेखि नै उडान गरेका छन् । यो विमानस्थल २४सै घण्टा सञ्चालन गर्न सकिने हिसाबले निर्माण भएको हो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । चर्चा भएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएकाले पोखरेली जनताको महत्त्वाकांक्षी योजना पूरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर