
राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा संविधान र कानूनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानमन्त्रीले भने, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलबीच छलफल गर्छाैं र हामी एउटा निष्कर्षमा पुगौंला ।’
सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद व्यक्त गरे । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए ।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया