
कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार बीपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी संगठन निर्माण र विस्तारमा लाग्ने बताए ।
उनले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।
सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए । ‘बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्नँ,’ उनले भने ।
चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भई अघि बढ्ने बताए ।
प्रतिक्रिया