कांग्रेस बागमती संसदीय दलको निर्वाचन आज, दुई जनाले दिए उम्मेदवारी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ छन् ।

यस्तै लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले छन् भने समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेश सभा सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *