
चलचित्रमा पुनरागमन गर्दै नायिका विपना थापा


भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ ।
चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायांकन थाल्छौं,’ निर्मात्री ढुंगानाले भनिन् ।
चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘संघर्ष जिन्दगीको’मा अभिनय गरेकी थिइन् ।
चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्रस्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनील कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौं । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्,’ निर्देशक पन्तले भने ।
प्रतिक्रिया