बाघले भरिए चितवन राष्ट्रिय निकुञ्जका खोर

चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जका खोरमा ५ वटा बाघ छन् ।

निकुञ्जको मुख्यालय कसरामा ३ वटा र सौराहामा २ वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो ।

कसरामा बाँकेबाट २ वर्षअघि ल्याएको एउटा बाघ छ ।

देवनगर र माडीबाट ल्याइएका २ बाघ छन् । ती बाघ ८ वर्षदेखि १५ वर्षसम्मका रहेका तिवारीले जानकारी दिए । यसवर्ष माडीमा १ जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् ।

यस आर्थिक वर्षमा हात्तीले २ र गैंडाले १ जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदैछ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ ।

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताए । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको संख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या १२८ छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या ४१ छ । देशभर बाघको संख्या ३५५ छ ।

उनका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र १ वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो, जुन राम्रो मानिन्छ । विगतका तुलनामा आहाराको घनत्व बढेको उनको भनाइ छ ।

बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ । समग्र मृग प्रजाति बाघको आहारा हो । जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती वन्यजन्तु नपाएमा बाघले बँदेल समेत खाने तिवारीको भनाइ छ । घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ ।

खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैंडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ । सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरूप काम अघि बढाइएको हो ।

हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ । क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताए । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक ५ किलो मासु खुवाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर