पोखरामा पुस १३ देखि राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता, २५ जिल्लाका ३०० खेलाडी सहभागी हुने

पोखरामा यही पुस १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रंगशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरू सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबलतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत महिला एकल तथा डबल, मिक्स डवल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समुह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्षमाथि डबल पुरुषतर्फको विधामा विजेता टोलीहरूले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेस्राे हुनेले जनही १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्ष मुनिका खेलाडी सहभागी (यू-१२) र १७ वर्षमुनिका खेलाडीहरू सहभागी (यू-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिस्पर्धा हुने भएको छ।

सो इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोस्राे हुनेले १० हजार र तेस्राे हुनेलाई पाँच हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने संघका सचिव फणिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर