मैत्रीपूर्ण फुटबलका लागि स्पेनका खेलाडी नेपालमा

स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रीपूर्ण खेलका लागि मंगलबार नेपाल आएको छ ।

रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन् ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ ।

गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।

यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लवहरुबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

१९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए । उमेर समूहमा उनले स्पेनको राष्ट्रिय टिमबाट २००४ मा १९ वर्षमुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर