प्रदेश १ का सांसदहरूले लिए शपथ
प्रदेश नं १ का प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश सभामा निर्मल लिम्बू, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र कमलप्रसाद जवेगुले लिम्बू भाषामा तथा सुनिता गच्छदारले थारू भाषामा शपथ लिए ।
सभाध्यक्ष मण्डलले जनतालाई दिएको वाचा पूरा गर्न ईश्वरका नाममा शपथ लिनुभएका प्रदेशसभा सदस्यहरूले आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो समारोहमा प्रदेशसभा सदस्यहरू राष्ट्रिय पोसाक तथा सांस्कृतिक झल्किने पोसाकमा सजिएर आएका थिए ।
शपथग्रहणपछिको आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभाध्यक्ष मण्डलले अहिलेको यो जिम्मेवारीलाई मैले अवसरका रूपमा लिएको बताउँदै सबै सदस्यहरूले भाइचाराको सम्बन्ध बनाएर प्रदेश सभाको काम पूरा गर्नुपर्ने धारणा राखे । उनले प्रदेश सभामा तत्काल सम्पादन गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल काकीलगायत प्रदेश सरकारका सरकार उच्च ओहदाका प्रहरी प्रमुख, सचिव, कार्यालय प्रमुख, सञ्चारकर्मी एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया