२८औं अन्तर मावि आईजीपी रनिङ ट्रफी फुटबलको उपाधि नेपाल पुलिस स्कुल धरानलाई

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा सञ्चालित २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता, २०७९ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले विजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकूल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । शारीरिक तथा मानसिक विकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले खेलकुदले एकअर्कामा समन्वय राखी समूहमा कार्य गर्ने सीपसमेत विकास गर्ने विचार व्यक्त गरे ।

पछिल्लो समय खेलकुदप्रतिको आकर्षण बढ्दै गएको र विभिन्न खेलका खेलाडीहरूले उल्लेखनीय कीर्तिमान बनाउन सफल भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा सहभागी खेलाडीहरूले पनि भविष्यमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको छवि उच्च राख्न सफल हुने विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने नेपाल प्रहरी तथा आम नागरिकका सन्ततिहरूको उज्वल भविष्य निर्माणको लागि विद्यालयमा कार्यरत शिक्षक, प्रहरी तथा अन्य कर्मचारीहरूलाई संवेदनशील र दत्तचित भएर काम गर्नुपर्ने बताउए ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गरे । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो कुशलता प्रदर्शन गर्न सक्ने क्षमतावान खेलाडीको विकास गर्न सहयोगी भूमिका खेल्दै आएको बताए ।

उक्त अवसरमा काभ्रे जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सेकेण्ड रनरअप टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले लिटिल एन्जल्स स्कुल ललितपुरलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान टिम प्रथम, लिटिल एन्जल्स स्कुल टिम द्वितीय र ल्याबरोटरी स्कुल टिम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल पुलिस स्कुल साँगाका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मंसिर २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बी टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय माविलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय निकायका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *