सांसदको तलब बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र

राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइँदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो।

‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत कर्जा र व्यवसायिक कर्जाको ब्याज तथा किस्ताहरु नउठेर सबैजसो बैंकहरूको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरू डिप्रेसनको सिकार भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य भएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘धेरैले व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपरेको छ भने धेरैले कर्मचारी कटौती गर्नु परेको छ। कृषि उत्पादको उचित मूल्य र मल न पाएर कृषकहरुमा कृषि प्रति उदासीनता छाएको छ।’

यस्तो अवस्थामा सरकारले नै उचित कदम चालेर अनावश्यक व्ययभार कम गर्नुपर्ने अभियानको ठहर छ। ‘मुलुकको सार्वभौमसत्ता निहित रहेको सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको आम भरोसा नै टुट्ने जोखिम पैदा भएको छ’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ, सांसदमाथि जनताको भरोसा कायम राख्न एवं संसदको गरिमा कायम राख्न सांसदमाथि हुने व्ययभार कटौती गर्न अत्यावश्यक रहेको हाम्रो ठहर छ। यसका लागि हामी यहाँसमक्ष माननीय सांसद ज्यू र प्रदेश सभाका सभासद ज्यूहरूलाई दिइँदै आइरहेको दैनिक भत्ताबाहेक सबै तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्नका लागि उपयुक्त कदम चाल्न माग गर्दछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर