‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ?

जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे । ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर १७ औँ पटकमा घरपालुवा हुन्छ । त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौथो पुस्ताका हात्ती छन् । जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ ? मान्छे अन्टाटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ ? छैन ।’

सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ । मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ । ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन । उसले घरको बानी नै परिवर्तन हुनुपर्‍याे । नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस् अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन । ऊ जंगलमै रमाउन चाहन्छ । कुनै पनि हात्ती घरपालुवा भएका छैनन् । त्यो हुन पनि सम्भव छैन ।’

हात्तीबाट कसरी जोगिने ?
सापकोटाका अनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ । उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन् । पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ ।

दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने । ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ । मान्छेजस्तै ऊ मैमत्त हुन्छ । त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए ।

हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने सापकोटाले बताए । उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ ।

प्रायः बासस्थान सर्नेबेला हात्तीले बालीहरु खाने सापकोटाले बताए । ‘हात्ती सधैँ हिँड्दैन । बसाइँ सर्छन् । बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ । गर्भणी हात्तीले केराको पात खाँदैनन् । गर्भ तुहिन्छ । हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने ।

बाघको पाइलाका किस्सा
जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ । त्यो बासस्थान वरपर हिँड्डुल गर्दाका प्रशस्तै पाइला भेटिन्छन् । मान्छेलाई त्यो पाइलामात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटा सुनाउँछन् । ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्ग मिटर कभर गरेर राख्छ मेरो घर हो कोही नआउनु भन्छ । उसले मेरो घर होभन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ । अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ ।’

पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए । उनकाअनुसार एउटा बाघको पाइलाबाट अरु बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन् । ‘हट्टाकट्टा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ । जति स्वस्थ बलियो बाघसँग सहबास गर्‍याे उसका बच्चा त्यति स्वस्थ हुन्छन् । कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए ।

बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ । भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सनाए ।

अमेरिकी र नेपाली भँगेरामा के फरक ?
पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ । भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन् । तर, उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन् । सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए । ‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौँ । तर, यकीनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ । बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ ।’

घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गरेका छन् । उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे – अमेरिकी र नेपाली भँगेरामा के फरक छ ? आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको घिमिरेले बताए ।

घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ । ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ । अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ । तरर, प्रजातिमा फरक हुँदैन । उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन ।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *