
गोपाल योञ्जनका गीतको संग्रह ‘गोपालय’ सार्वजनिक


नेपाली सङ्गीतका मूर्धन्य व्यक्तित्व गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ। पोखरामा जारी १०औँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले बिहीबार उक्त पुस्तकको विमोचन गरे।
पुस्तकमा योञ्जनले लेखेका २४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ। २५ वर्षदेखिको खोज र सङ्कलनपछि गीत सङ्ग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी धर्मपत्नी रिञ्छेनले बताइन्।
उक्त सङ्ग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’लगायत गीत समावेश छन्। योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गरिन्। गीत सङ्ग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उनले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताइन्।
योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राखेका थिए। योञ्जनलाई कविका रूपमा समेत उनले चिनाए। योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामर्थ्य पाइने प्रतीकको भनाइ थियो।
कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गरेका थिए।
योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिवलमा उनका गीतको साङ्गीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो। ‘यति चोखो, यति मीठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए।
प्रतिक्रिया