अध्यागमन जान मानेनन् चार्ल्स शोभराज, आज केन्द्रीय कारागारमै बस्ने
सिरियल किलर चार्ल्स शोभराजले अध्यागमन कार्यालयको हिरासतमा रहन अस्वीकार गरेका छन् । उनी बिहीबार केन्द्रीय कारागारमै बस्ने भएका छन् ।
बिहीबार केन्द्रीय कारागारले शोभराजलाई रिहा गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरेको थियो । तर, शोभराजले अध्यागमन जान अस्वीकार गरेका हुन् ।
अध्यागमन कार्यालयले पनि शोभराजलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने निधो गर्न सकेको थिएन । जमानीमा छाड्दा शोभराज होटलमा बस्नुपर्ने भए पनि शोभराजले अध्यागमन जान अस्वीकार गरेको वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीले बताए ।
अब शुक्रबार बिहान मात्रै शोभरालाई अध्यागमन विभागको जिम्मा लगाइने भएको छ । अध्यागमन विभागले त्यसपछि उनलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । विभागले प्रक्रिया पूरा गरेर उनलाई फ्रान्समा डिपोर्ट गर्ने तयारी गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संयुक्त इजलासले शोभराजलाई तत्काल थुनामुक्त गरी १५ दिनभित्र उनको देश फ्रान्स पठाउन आदेश गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए थुनामुक्त गर्न र पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।
शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको हाे ।
फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
प्रतिक्रिया