
निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिनेछ : प्रमुख आयुक्त थपलिया


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानूनी सुधार गरिने बताएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्वन्यायाधीश फोरमको प्रतिवेदन बिहीबार बुझ्दै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना, कानून र नीतिभित्र रहेर गर्न सकिने सुधार यहीभित्रबाट र गर्न नसकिने सुधार कानून संशोधन गराएर गर्न आयोगले तयारी गरेको बताएका हुन् ।
उनले निर्वाचन कानून, व्यवस्थापन र प्रक्रियाका सम्बन्धमा देखिएका सवाल तथा अन्योलबाट स्पष्ट हुँदै क्रमशः सुधारको बाटोमा जान पूर्वन्यायाधीश फोरमले दिएका सुझाव मनन् गरिने पनि उल्लेख गरे ।
प्रतिवेदन बुझाउँदै फोरमका अध्यक्ष टोपहादुर सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनका लागि सुधार्नुपर्ने पक्षमा सुझाव प्रस्तुत गरेका थिए । निर्वाचनमा फोरममा आबद्ध ३२ पूर्वन्यायाधीशले विभिन्न १५ जिल्लामा पर्यवेक्षण गरेका थिए ।
प्रतिक्रिया