स्पेनिस क्लब काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीबार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो ।
काथेरेन्यो एफसीले नेपालमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब पनि हो । स्पेनिस क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । गण्डकी ११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नेछन् ।
त्यस्तै पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् । काठमाडौं ११ को प्रशिक्षण मेघराज केसीले गर्नेछन् ।
स्पेनिस क्लब काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडजस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडीहरू रहेका छन् । नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।
काथेरेन्योले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ । नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि छन् । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए ।
प्रतिक्रिया