ललितपुर र सगरमाथा इन्जिनियरिङ कलेजको बदमासीले ‘पास आउट’ विद्यार्थी लाइसेन्सबाट वञ्चित

नेपाल इन्जिनियरिङ परिषद र कलेजको बदमासीले कम्प्युटर इन्जिनियरिङका विद्यार्थी लाइसेन्स पाउनबाट वञ्चित भएका छन् । ललितपुर इन्जिनियरिङ कलेजले समयमै परिषदबाट मान्यता नलिँदा विद्यार्थीले इन्जिनियरिङ उत्तीर्ण गरेको ६ महिना पुग्दा पनि लाइसेन्स पाउन नसकेका हुन् । लाइसेन्स नपाउँदा रोजगारीदेखि उच्च अध्ययनका लागि समस्या भएको विद्यार्थीको गुनासो छ ।

२०७४ मा पहिलो ब्याच भर्ना लिएको ललितपुर इन्जिनियरिङ कलेजले हालसम्म परिषदबाट मान्यता नलिएको हो । कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको थियो । त्रिविले उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिसकेको छ । तर, कलेजले मान्यता नलिँदा विद्यार्थीले परिषदबाट लाइसेन्स नपाएकाले करियर नै जोखिममा परेको हो ।

५ वर्षयता उक्त कलेजले सयभन्दा बढी विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङका लागि भर्ना लिएको छ । यो कलेजबाट उक्त विषय अध्ययन गर्ने पहिलो ब्याच गत असारमा ‘पास आउट’ पनि भइसकेको छ । कलेज अहिले यही विषयमा अध्यापनका लागि पाँचौं ब्याचलाई भर्ना गर्ने क्रममा छ । तर हालसम्म परिषदबाट मान्यता नलिँदा ती विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ ।

उक्त कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गर्ने पहिलो ब्याचका पीडित विद्यार्थी असिम कार्कीले परिषद र कलेजबाट आफूहरुलाई धोका भएको बताए । ‘कलेजले स्वीकृति नलिएकोबारे हामीलाई न कलेजले जानकारी दियो, न त परिषदले नै । परिषदका पदाधिकारी कलेजमा अनुगमनमा आउँदा पनि हामीलाई स्वीकृति नलिएकोबारे जानकारी दिएनन्,’ उनले भने, ‘अहिले हामीले लाइसेन्स नपाउँदा लोकसेवा आयोगदेखि रोजगारीका अन्य अवसर गुमाउनुपरेको छ ।’

उनले यसबारेमा कलेज प्रशासन र परिषदलाई पटकपटक जानकारी गराए पनि आफूहरुको समस्या समाधान गर्न बेवास्ता गरिएको बताए । ‘कलेजले समस्या समाधान गर्छौं भनेको पनि ६ महिना बितिसकेको छ । परिषदलाई जानकारी गराए पनि न कलेजमाथि एक्सन लिएको छ, न त समस्या समाधानको प्रक्रिया नै अघि बढाइएको छ,’ उनले भने ।

कलेजले उक्त विषय अध्यापनका लागि प्रतिविद्यार्थी ८ देखि १० लाख रुपैयाँसम्म उठाएको थियो । कलेजको क्षमता ४८ जनाको भए पनि पहिलो ब्याचमा ३० जना भर्ना भएका थिए । तिनै विद्यार्थीमध्येका एक विनयराज पराजुलीले कलेजका कारण मानसिक समस्या बेहोर्नुपरेको पर्दाफासलाई बताए । ‘पढाइ सक्यौं, त्रिविबाट प्रमाणपत्र पनि पायौं तर अहिले कलेज र परिषदको लापरबाहीले परिषदबाट लाइसेन्स पाउन सकेका छैनौं । लाइसेन्स नभईकन न रोजगारी पाउन सक्छौं न उच्च अध्ययनको लागि जान नै सम्भव छ,’ उनले भने, ‘हामीसँगै अध्ययन गरेका सिभिलका विद्यार्थीले लाइसेन्स पाइसके, हाम्रो करियर जोखिमपूर्ण हुँदा मानसिक तनावमा छौं ।’

परिषदले कलेजलाई स्वीकृति नलिइकन अध्ययन गर्न रोक्नुपर्नेमा त्यसो नगर्दा विद्यार्थीको भविष्य जोखिममा परेको हो । विद्यार्थीको धेरै गुनासो आएपछि हालै मात्र परिषदले सूचना जारी गर्दै भर्ना हुनुअघि कलेजले स्वीकृति लिए नलिएको जानकारी लिन आग्रह गरेको छ । परिषदले गत मंसिर १४ मा जारी गरेको सूचनामा ‘नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ (पहिलो संशोधन, २०७९) मा प्रचलित कानूनबमोजिम स्थापना भएका शिक्षण संस्थाले इन्जिनियरिङ विषयको अध्ययन, अध्यापन गर्नु, गराउनु अघि परिषदबाट समेन मान्यता प्राप्त गर्नुपर्नेछ भनी व्यवस्था गरिएकोले शिक्षण संस्थाहरुले परिषदबाट इन्जिनियरिङ शिक्षण संस्थाको मान्यता (विषय/भर्ना क्षमता) प्राप्त गरेपश्चा मात्र विद्यार्थी भर्ना गर्नुहुन जानकारी गराइन्छ,’ भनी उल्लेख छ ।

‘साथै विद्यार्थी/अभिभावकहरुलाई कुनै शिक्षण संस्थामा इन्जिनियरिङ विषयमा भर्ना हुनुपूर्व सो संस्थाको परिषदबाट मान्यताबारे स्पष्ट भएपश्चात् भर्ना प्रक्रिया अघि बढाउनुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । परिषदले हालसम्म त्रिविबाट प्राप्त प्रमाणपत्र र कलेजले पाएको मान्यताका आधारमा लाइसेन्स दिँदै आएकोमा अब भने परीक्षा पनि लिने भएको छ ।

यही विषय अध्यापन गराइएको सगरमाथा इन्जिनियरिङ कलेजका विद्यार्थी पनि लाइसेन्स पाउनबाट वञ्चित भएका छन् । तर, कलेज भने परिषदलाई परिषद सरकारलाई दोष देखाएर पन्छिने गर्दै आएका छन् । कलेजले निवेदन दिए पनि परिषदले मान्यता दिन ढिलाइ गरेको आरोप लगाउँदै आएको छ भने परिषदले मन्त्रिपरिषदबाट निर्णय नहुँदा मान्यता दिन नसकेको जनाउँदै आएको छ ।

ललितपुर इन्जिनियरिङ कलेजका व्यवस्थापनमा पनि सक्रिय रहेका सेयर सदस्य रामकृष्ण चित्रकारले कक्षा सञ्चालनको स्वीकृतिका लागि परिषदमा निवेदन दिए पनि पाउन नसकेको दाबी गरे । उनले ८/९ महिनाअघि स्वीकृतिका लागि पत्राचार गरेको बताए । ‘परिषदले सुपरभिजनलगायत अध्ययन अनुगमन गरिसकेको छ, तर परिषदमै अध्यक्ष उपाध्यक्ष नहुँदा निर्णय हुन नसकी स्वीकृति पाउन नसकेको बताइएको छ, स्वीकृतिका लागि पहल गरिरहेका छौं,’ उनले भने ।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्ट्रार शिवमंगल गिरीले ललितपुर इन्जिनियरिङ कजेल, सगरमाथा इन्जिनियरिङ कलेज लगायत कलेजले परिषदबाट कक्षा सञ्चालनका लागि स्वीकृति प्राप्त नगरिसकेको स्विकारे । उनले स्वीकृतिका लागि मन्त्रिपरिषदबाट फाइल अघि बढाइएको धेरै भए पनि हालसम्म निर्णय नभएको दाबी गरे ।

स्वीकृति प्राप्त नगरी कलेजहरुले वर्षौंदेखि भर्ना र कक्षा सञ्चालन गरिरहँदा परिषदले किन कारबाही नगरेको भन्ने प्रश्नमा भने उनले उत्तर दिन सकेनन् । उनले हालै मात्र कलेजहरुले परिषदबाट स्वीकृत प्राप्त गरे नगरेको बुुझेर मात्र भर्ना हुन विद्यार्थीलाई आग्रह गर्दै सूचना जारी गरेको जनाए ।

प्रतिक्रिया

One thought on “ललितपुर र सगरमाथा इन्जिनियरिङ कलेजको बदमासीले ‘पास आउट’ विद्यार्थी लाइसेन्सबाट वञ्चित

  1. कलेज र परिषद दुवैकाे घाेर लापरबाही देखिन्छ। भाेलि गएर पिडित विद्यार्थीहरु मध्ये कसैले मानसिक तनावमा कुनै अप्रिय कदम उठाएमा यसकाे जवाफदेही काे हुने? अनुगमनकाे लागि बनेका अङ्गहरुका कर्मचारीबाट नै यस्तो चरम लापरवाही हुनेभएकोले याे देशकाे अवस्था यस्तो छ। राम-राम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर