चरा संरक्षणका लागि सौराहामा राष्ट्रिय कार्यशाला

चितवनको सौराहामा चराविद् र संरक्षणकर्मीहरुको राष्ट्रिय कार्यशाला सुरु भएको छ । चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला मङ्गलबारदेखि सौराहामा सुरु भएको हो । कार्यशालामा देशभरका ६० चराविद् र संरक्षणकर्मीको सहभागिता छ ।

तीन दिन सञ्चालन हुने कार्यशालामा नेपालमा चराको अवस्था तथा सम्भावनाको अध्ययन गरिने बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । उनका अनुसार कार्यशालाबाट आगामी योजना र कार्यदिशासमेत तय गरिनेछ ।

बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पन्छी संरक्षण सङ्घले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा समेत छलफल हुनेछ ।

नेपालमा एक सय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिइन् । कार्यशाला चरा लोप हुनाका कारण, संरक्षणका लागि भएका प्रयास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने उनले बताइन् ।

बर्ड एजुकेसन सोसाइटी र चरा संरक्षणकर्मीले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाले कार्यशालामा कार्यगत विवरण प्रस्तुत गर्नेछन् । कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चराको बासस्थानमा मानवीय अतिक्रणका कारण चरा जोगाउन मुस्किल भएको बताए । उनले सबै सरोकारवाला निकायले एक भएर चराको संरक्षणका लागि काम गर्नुपर्ने बताए । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा रहेका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर