कांग्रेस संसदीय दलको चुनाव पुस ६ गतेभित्र

नेपाली कांग्रेसले पुस ६ गतेभित्र संसदीय दलको नेताको चुनाव गरिसक्ने भएको छ । उसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णयसमेत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि पुस १० सम्मको समयसीमा दिएकै दिन आइतबार कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको हो ।

राजधानीमा आइतबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउन सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही छन् ।

समितिले पुस ६ गते दलको नेताकोक निर्वाचन सक्ने गरी काम अगाडि बढाउने संयोजक आङदेम्बेले बताए ।

कांग्रेसको संसदीय दलको विधानमा दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान रहेका कारण सभापति देउवा आफैं सरकारको नेतृत्व गर्ने पक्षमा छन् । अर्कोतर्फ डा. शेखर कोइराला र गगन थापा संसदीय दलको नेतामा चुनाव लड्ने तयारीमा छन् ।

कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने विधान छ । यही कारणले संसदीय दलको नेता को बन्ने भन्नेमा प्रतिस्पर्धा छ । सभापति देउवासँग महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने चुनावअघि नै घोषणा गरिसकेका छन् । रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि संसदीय दलको नेता बन्ने चाहना राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *