
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि


सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १०औँ संस्करण आजदेखि सुरु हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा हुन लागेको उक्त महोत्सव यही पुस ६ गतेसम्म चल्ने छ ।
‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना हुने सो महोत्सवको उद्घाटनका अवसरमा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ ।
विश्वभरिबाट खुल्ला आवेदनमार्फत सङ्कलन गरिएका नेपालसहित २५ देशका ६४ चलचित्र, वृत्तचित्रलगायत महोत्सवमा देखाइने छन् । नेपालबाट निर्देशक अभिनाश विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।
महोत्सवमा प्रदर्शन गरिने उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी चलचित्र कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनयलगायत कुरा सिक्न पाइने छ ।
‘महोत्सवबाट नेपाली कला, संस्कृतिका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुग्ने छ,’ उनले भने ।
प्रतिक्रिया