रमेश विकलका दुई पुस्तक लोकार्पण, छ जना पुरस्कृत
साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पणपश्चात ‘रमेश विकलका प्रतिनिधि कथा’का सम्पादक प्राडा हेमराज पौडेलले रमेश विकललाई नेपाली साहित्यको आख्याङ्क विराट व्यक्ति भनेर चिनिने बताए । साहित्यकार विकल विशेषगरी समाजका निम्न वर्गीय जीवनलाई प्राथमिकतामा राखेर निम्न वर्गलाई माथि उठाउने उद्देश्य र समाजलाई रुपान्तरण गर्ने चेतनाका साथ साहित्यमा अघि बढेको बताए ।
साहित्यकार विकलका प्रतिनिधि कथाभित्र अनुहार मेटिएको मान्छे, आज फेरि नयाँ तन्ना फेरिन्छ, आतङ्कमा बाँचेका बस्ती, उसले जन्माएको छोरोलगायतका विषयवस्तु समावेश गरिएका छन् ।
त्यस्तै पुस्तक ‘चार पुस्ताका कथा’का सम्पादक आलोक चालिसेले साहित्यकार विकलका कथामा जे छ, व्यवहार र लेखनमा पनि एउटै कुराहरू समावेश हुनु उहाँको मुख्य विशेषता नै रहेको बताए । चार पुस्ताका कथाभित्र साहित्यकार रमेश विकलको पहिलो कथा गरिब, नयाँ सडकको गीत, उर्मिला भाउजू, एउटा बूढो भ्वाइलेन र उनकाे अन्तिम कथा विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक समावेश गरिएका छन् ।
शनिबार गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा रमेश विकल साहित्य प्रतिष्ठानले विभिन्न छ वटा विधामा पुरस्कार वितरण गरेको थियो ।
जसमा रमेश विकल विङ्मय पुरस्कारबाट तेजेश्वरबाबु ग्वंग, विकल–सुशीला समाजसेवा पुरस्कारबाट सपना रोका मगर, रमेश विकल–सिर्जना पुरस्कारबाट रमेश गोर्खाली, विकल बालसाहित्य पुरस्कारबाट लक्ष्मी उप्रेती, विकल–सुशीला सङ्घर्षशील महिला पुरस्कारबाट धर्मशिला चापागाईँ र रमेश विकल कला–सङ्गीत पुरस्कारबाट बद्री अधिकारीलगायतलाई नगदसहित पुरस्कृत भएका थिए ।
रमेश विकल साहित्यिक प्रतिष्ठानका सदस्यसचिव विजय चालिसेले साहित्यकार विकलबाट नेपाली साहित्यमा चयन गरिने भाषाशैली, लेखनशैली र सरल शब्दहरू नयाँ पुस्ताले उनीबाट सिक्नुपर्ने बताए । साहित्यकार विकलले लिएका अग्रगमनको प्रकृति समाज पछि धकेल्ने नभएर समाजअघि बढाउनेमा योगदान रहने खालका सन्देश नेपाली साहित्यमा हुनुपर्ने सदस्यसचिव चालिसेले बताए ।
गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले साहित्य क्षेत्रमा नगरपालिकाले विभिन्न खालका गतिविधि गर्दै आएकोे बताए । उनले मेश विकल साहित्य प्रतिष्ठानलाई अगाडि बढाउन नगरको पनि दायित्व भएको जनाए ।
प्रतिक्रिया