जुम्लामा वडाध्यक्षले कुटे प्रधानाध्यापक

तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सूरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँपटक बैठक बस्दा पनि सहमति हुन सकेन,’ प्रधानाध्यापक बस्नेतले भने, ‘उनीहरूले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।’

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताए । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन् । उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उनले दुखेसो गरे ।

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गरे । उनले भने, ‘झगडा सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगतजस्तो भयो । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौँला ।’

पीडितले अस्थायी/करार शिक्षकलाई प्रधानाध्यापक बनाउन चाहेको विषयमा भने वडाध्यक्ष बस्नेतले केही बोलेनन् । विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रधानाध्यापक र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाले आफूलाई कुनै जानकारी नभएको बताए ।

यद्यपि प्रधानाध्यापक घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उनले जनाए । शुक्रबार भएको विवादका कारण उक्त विद्यालयको चुनाव स्थगन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *