व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताएका हुन् ।
‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईंलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरू र लगानीकर्ताहरू तपाईंलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर, मलाई लाग्छ यो समस्या लामो रहँदैन । बिस्तारै सहज हुँदै जान्छ,’ उनले भने ।
मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरू मारमा परेको उनले बताए ।
अहिले निजी क्षेत्रले उठाएका एजेण्डाहरू निजी क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारका लागि रहेको बताउँदै उनले निजी क्षेत्रका एजेण्डा भन्दै बेवास्ता गर्दै जाने हो भने यसको दुष्परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए ।
उनले सरकारी संयन्त्रबीच एकआपसमा समन्वयको कमी रहेको र यसको मार निजी क्षेत्रले खेप्नु परेको बताए ।
रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताए ।
प्रतिक्रिया