जिफन्टको सरकारलाई दबाब : विदेशमा रहेका श्रमिकहरूको समस्या तत्काल समाधान गर

नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरूको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएका हुन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरूलाई पनि आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न पनि सरकारको गम्भीर धयानाकर्षण गराए ।

अध्यक्ष श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर, वैदेशिक रोजगारीमा गएकाहरूको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भीर भएर उनीहरूको समस्या तत्काल समाधान गर्नुपर्दछ ।’

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पनि हित प्रवर्द्धन हुनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *