सुकुम्बासी समस्या समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् ।

मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर शहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि स्मरण गराए ।

महानगरपालिकालाई बसोबासयोग्य, प्रदूषणरहित, वातावरणमैत्री बनाई महानगरबासीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताए । मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहारमैलालगायतका समस्या समाधान गरी अघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गरे । उनले बसोबासयोग्य शहरको रूपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *