
धनुष सन् २०२२ मा भारतको सबैभन्दा लोकप्रिय अभिनेता


दक्षिण भारतीय अभिनेता धनुष सन् २०२२ मा भारतको सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । विश्व फिल्मको तथ्यांक राख्ने प्रतिष्ठित आईएमडीबीले जारी गरेको सूचीमा धनुष शीर्षस्थानमा परेका हुन् । आईएमडीबीले आफ्नो प्लेटफर्ममा रहेका सेलिब्रिटीका पृष्ठहरुको भ्युजको आधारमा यो नतिजा सार्वजनिक गरेको हो ।
बुधबार सार्वजनिक सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो र तेस्रो स्थानमा छन् । रामचरण, सामन्था रुथ प्रभु, जुनियर एनटीआर, अल्लु अर्जुन र यशसहित शीर्ष १० मा दक्षिण भारतीय कलाकार अटाएका छन् ।
चौथो र पाँचौं स्थानमा रामचरण र सामन्था रुथ प्रभु छन् भने ऋतिक रोशन छैटौं र कियारा आडवाणी सातौं स्थानमा छन् । रामराव जुनियर आठौं, अल्लु अर्जुन नवौं र यश दशौंमा छन् ।
धनुषले यस वर्ष तमिल फिल्म ‘मारन’ र हलिउड फिल्म ‘द ग्रे म्यान’सहित धेरै लोकप्रिय प्रोजेक्टमा काम गरेका छन् । आलिया ‘गंगुबाई कठियावाडी’ र ‘ब्रह्मास्त्र’मा देखिएकी थिइन् भने ऐश्वर्या मणिरत्नमको ‘पोन्नियन सेल्भन’मा । सामन्थाले चर्चित तेलुगू फिल्म ‘यशोधा’मा अभिनय गर्दै विश्वका दर्शकलाई आकर्षित गरेकी थिइन् ।
प्रतिक्रिया