मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताहरुले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानीबारेमा ध्यानाकर्षणपत्र बुझाएपछि उनले यस्तो बताएका हुन्।
उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। उनले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुशी व्यक्त गरे।
प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताए। उनले मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिवसहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘मेलम्ची काठमाडौंका लागि अत्यन्त महत्वपूर्ण कुरा हो। आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्छु भन्नुभएको थियो। त्यो कुरा फुलफिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु। सबै मिलेर पूरा गरौं। कसरी हुन्छ, विज्ञ क्याबिनेट राखेर त्यसमा मुख्यसचिवलाई पनि राखेर विकास समिति भन्नुभयो, त्यो आवश्यक छ भने त्यसमा आपत्ति छैन। विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौं। नयाँ बनाउनुपर्ने भए पनि बनाउँला, के भयो र?’
कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेको थियो। अवलोकनपछि सिंहले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराएका हुन्।
ध्यानाकर्षणपत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ।
प्रतिक्रिया