सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।

चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इन्जिनियर अजय यादव र सवइन्जिनियर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरिएको छ ।

आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *