परिवार चिकित्सक बन भन्थे, उनी सांसद बनिन् 

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मेकी सीता गुरूङका बुबा पदमबहादुरको चाहना फरक थियो।

पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे। त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे। उनले छ महिना जति पढिन् पनि। तर एक्कासि सीताको मनमा अरू नै कुरा खेल्न थाल्यो।

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिनन् र उनी घर फर्किइन्।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरूङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरू भएको हो। बुवा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए। बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रूपमा संलग्न भइन्। उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भएकी थिइन्।

वि.सं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी संघमा आबद्ध भइन्।

उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरू भएको हो।

‘सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भएँ’, प्रतिनिधि सभा सदस्यमा निर्वाचित सीताले भनिन्, ‘महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरूद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिएँ।’

त्यही अठोटका कारण दोस्रो पटक प्रतिनिधि सभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ।

उनको राजनीतिक यात्रा लामो छ। विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी संघ तेह्रथुमको सचिव बनिन्।

वि.सं २०५४ मा उनी नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला संघ तेह्रथुमको अध्यक्ष बनेकी थिइन्।

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव बनेकी थिइन्।

लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बनिन्।

विसं २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्य बनेकी सीताले संविधान सभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरूप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको सदस्यका रूपमा भूमिका निर्वाह गरिन्।

उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन्। दोस्रो संविधान सभामा समेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन्।

तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन्। उनी २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन्।

दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसदमा प्रवेश गर्दैछिन्।

सीताले १९ हजार सात सय दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाएका थिए।

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य रहेकी सीतालाई साहसिक महिलाका रूपमा हेर्ने गरिएको छ।

‘तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्। अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु’, नवनिर्वाचित सांसद सीताले भनिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *