
बल प्रयोग गरेर सुकुम्बासीलाई पराजित गर्ने तमासा देखाइयो : ओली


नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन्।
अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान नगरेको बताए। ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कारअनुसार अघि बढ्न पनि काठमाडौं महानगरपालिका र सरकारको ध्यानाकर्षण गराए।
अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकिर गरे। निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो ।
बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताए। उनले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत दिए।
ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको बताए।
प्रतिक्रिया