लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने निश्चित, यस्तो छ चुनावी नतिजा
केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो ।
लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ ।
लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भए पनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । कांग्रेस र माओवादीले एकल रूपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरूमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरूले जित निकाल्न सकेनन् ।
प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली कांग्रेसले बलियो आधार मानेका र यसअघि पटकपटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रूपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रूपन्देही ३ मा बालकृष्ण खाणले फराकिलो मतान्तरले पराजय भोग्नुपर्याे ।
गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र) ले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणी खनाल, बाँके १ मा संघीय मन्त्री महेश्वरजंग गहतराज, बर्दिया २ मा सुरेश पन्त यसअघि सो पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल रूपन्देही १ मा फराकिलो मतान्तरले पराजित भए । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धि बनेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले भागबण्डमा पाएको ४ सिटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ । पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्रीले बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर, दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भए । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक/एक सिट गुमाएर रित्तै भएको छ । प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागबण्डामा उम्मेदवार बनाए पनि जित्न सकेनन् ।
अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले त्यो थ्रेसहोल्ड पार गरिसकेका छन् ।
प्रतिक्रिया