पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो ।
विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर सङ्कलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार रुपैयाँ आयकर सङ्कलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर सङ्कलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असूली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार रुपैयाँ भ्याट सङ्कलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबर मात्रै असुली भएको हो ।
त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख चार हजार रुपैयाँ अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार रुपैयाँ असुली भएको हो ।
सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा एक अर्ब ६९ करोड १३ लाख रुपैयाँ घरबहाल कर उठाउने विभागको लक्ष्य छ । यो अवधिमा ६४ करोड ४२ लाख तीन हजार रुपैयाँ बराबर मात्रै उठेको हो ।
शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार रुपैयाँ मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा एक अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् दुई अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैयाँ असुली भएको छ ।
प्रतिक्रिया