
डीएसपी राई र इन्स्पेक्टर थापा बने प्रदेश १ को ‘सुपरबेष्ट पुलिस’


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राई र इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिलन थापा प्रदेश १ को ‘सुपरबेष्ट पुलिस’ बनेका छन्।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपी राई र इन्स्पेक्टर थापालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
डीएसपी राईले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको तथा इन्स्पेक्टर थापाले झापा दमक–१० का १५ वर्षीय दियुष श्रेष्ठ र उर्लाबारी–८ का ४२ वर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टाछुट्टै घटनाहरूमा अभियुक्तहरूको पहिचान तथा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको जनाइएको छ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया