
आफ्ना कमाण्डरलाई हराउँदै प्रचण्डका राजनीतिक ‘चाणक्य’ पुनको रोल्पामा जीत

नेकपा (माओवादी केन्द्र) का सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य सहयोगी तथा पार्टीवृतमा उनका राजनीतिक तथा आर्थिक मामिलाका प्रमुख सल्लाहकार वर्षमान पुन अनन्त रोल्पाबाट पुन विजयी भएका छन् ।
पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका हुन् ।
यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए । संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनी ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए ।
विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार थिए । उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे। विजयी भएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखे ।
निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह्याम्बोले एक सय ५२ मत प्राप्त गरेका छन् ।
संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए। पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डर थिए ।
सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा (एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे। यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो ।
सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम मात्र राखेनन्, फराकिलो मतान्तरले विजयी भए ।
रोल्पामा कूल मतदाता सङ्ख्या एक हलाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ । प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भए भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भए ।
निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो । उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उकको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सक्नु भएन । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन् ।
पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय भएका उनले विसं २०५२ देखि नै जनयुद्धमा सहभागी थिए। उनले तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए । अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।
प्रतिक्रिया