कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’
७ मंसिर २०७९ १८:२०
कैलाली क्षेत्र नं ३ मा प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् ।
कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालका अनुसार प्रदेश सभातर्फको ३ (१) मा घनश्याम चौधरी १३ हजार नौ सय २३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारुले ११ हजार पाँच सय ७२ मत पाए ।
प्रदेश सभातर्फको ३ (२) मा खुशीराम चौधरी सात हजार पाँच सय ३९ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँदले छ हजार छ सय १९ मत ल्याए । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको सो क्षेत्रमा कुल ६३ हजार चार सय ४० मत खसेको थियो ।
प्रतिक्रिया