बहुदलपछिका निर्वाचन: ६ चुनावका यी हुन् ६ रोचक तथ्य

नेपालमा औपचारिक निर्वाचनको इतिहास त्यति लामो छैन । करिब ७ दशकअघि २००४ सालमा औपचारिक निर्वाचन भए पनि नेपालीहरुले वास्तविक संसदीय निर्वाचनको महसुस भने २०१५ सालमा मात्र गर्न पाए । तर, त्यसपछिको निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रापातपछि लामो समयसम्म मुलुकमा निर्वाचन सम्भव भएन ।

यद्यपि, पञ्चायतकालमा जनमत संग्रह २०३७, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन, २०३८ र २०४३ नभएका होइनन् । तर, निर्दलीय व्यवस्थामा गरिएका यी निर्वाचनमा लोकतान्त्रिक विधि तथा प्रक्रियाको अभाव थियो । २०४६ सालमा प्रजातन्त्र र बहुदलको पुनस्र्थापनापछि पुनः नागरिकले मताधिकारको सदुपयोग गर्न पाए ।

२०४७ सालयताको प्रतिनिधिसभा निर्वाचन के कस्तो थियो ? कस्ता परिणाम आए ? निर्वाचनपछिको सरकार कसले बनायो ? यस्ता छन् रोचक पक्षहरु –

२०४८ साल निर्वाचन: कांग्रेसले सम्हाल्न नसकेको बहुमत

२०४६ को पहिलो जनआन्दोलनले प्रजातन्त्रलाई पुनर्बहाली गरेपछि २०४८ वैशाख २९ मा आम निर्वाचन भएको थियो । निर्वाचनमा कांग्रेसले ११० सिट जितेर बहुमत ल्याएको थियो । २०५ सदस्यीय प्रतिनिधिसभामा ६९ सिट जितेर एमाले दोस्रो भएको थियो ।

बहुमत पाएपछि कांग्रेसका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर, यो सरकार अर्को निर्वाचनको अवधिसम्म टिक्न सकेन । पार्टीमै आन्तरिक विवादका कारण कोइरालाले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गरेका थिए ।

२०५१ साल निर्वाचन: एमालेको ९ महिने सरकार

२९ कात्तिक २०५१ मा मध्यावधि निर्वाचन भएको थियो । तर कुनै पनि राजनीतिक दलको बहुमत आएन । एमालेले ८८, कांग्रेसले ८३ र राप्रपाले २० सिट जितेका थिए । तत्काल सहमतिको सरकारको वातावरण नबन्दा संवैधानिक प्रावधानअनुसार तत्कालीन नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।

सो सरकारको विरुद्धमा तत्कालीन विपक्षी नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता ग¥यो । सरकार ढल्यो तर प्रधानमन्त्री अधिकारीले नयाँ निर्वाचनमा जान राजासँग प्रस्ताव गरे ।संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार बन्ने बाटो खुला रहेको भन्दै अदालतले अधिकारीलाई निर्वाचनमा जान दिएन ।

त्यतिबेलाका प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय थिए । अदालतको विरोधमा तत्कालीन नेकपा एमाले सडक आन्दोलनमा गयो । त्यसपछि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए ।

२०५६ साल निर्वाचन: राजाको हातमा शासन

२०५६ सालमा भएको संसदीय निर्वाचनमा कांग्रेसले फेरि दुई तिहाइ मत प्राप्त ग¥यो । तर दोस्रोपटक पनि कांग्रेसले सम्हाल्न नसक्दा आफ्नै नेतृत्वको सरकार ढालियो । सुरुमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने त्यसपछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

त्यतिबेला देशमा माओवादीले सशस्त्र युद्ध थालिसकेको थियो । यसबीचमा माओवादीसँग कसरी सामना गर्ने भन्ने विषयमा पार्टीभित्र विवाद भयो र देउवाले २०५९ सालमा संसद भंग गरे, संकटकाल लगाए । उनले घोषणा गरेको मितिमा निर्वाचन नहुँदा राजाले प्रत्यक्ष शासन लिए ।

२०६४ साल संविधान सभा निर्वाचन: माओवादीको उदय

२०६२–६३ को जनआन्दोलन–२ सफल भएपछि मुलुकमा २०६४ सालमा संविधान सभाको निर्वाचन भएको थियो । चुनावी मैदानमा नयाँ प्रतिस्पर्धी थियो, माओवादी । लामो सशस्त्र युद्धपछि संसदीय प्रतिस्पर्धामा आएको माओवादीलाई जनताले एकपटक हेर्न पनि यो निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाए ।

निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० र मनोनीत ९ गरी २२९ सिट जितेको थियो । दोस्रोमा कांग्रेसले ११५ र तेस्रोमा एमालेले १०८ सिट जितेका थिए । निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा २०६५ भदौमा सरकार गठन भयो । तर, तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाललाई कारबाही गर्न खोजेको असफल प्रकरणपछि उनले २१ वैशाख २०६६ मा राजीनामा दिनुप¥यो ।

२०७० साल निर्वाचन: संविधान बनाउन सफल

पहिलो संविधानसभाले संविधान तयार गर्न नसकेपछि दोस्रोपटक संविधानसभाको निर्वाचन भएको हो । खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषदले यो निर्वाचन गरएको थियो । संविधान सभाका ६०१ सिटमध्ये २०६ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको थियो । कांग्रेसले प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ सिट जितेको थियो । दोस्रो भएको एमालेले १८४ सिट जितेको थियो ।

पहिलो संविधान सभा निर्वाचनमा पहिलो पार्टी भएको माओवादी भने तेस्रो स्थानमा खुम्चियो । उसले ८३ सिट जितेको थियो । कांग्रेसका सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।

२०७४ निर्वाचन: एमाले–माओवादीले सम्हाल्न नसकेको बहुमत

नयाँ संविधान निर्माणपछि भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ को निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको थियो । सोही कारण निर्वाचनमा प्रतिनिधिसभातर्फ एमालेले १२१ सिट जितेको थियो । त्यसमा प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ छ । दोस्रो दल कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सिट जितेको थियो ।

माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी ५३ सिट जितेको थियो । पहिलो पटक दुई कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत पाएर शक्तिशाली सरकार गठन भएको थियो । एमाले र माओवादीबीच एकता भई नेकपा बने पनि आन्तरिक विवादले पार्टी विभाजन मात्र भएन, केपी शर्मा ओली नेतृत्वको सरकार गठनको ३ वर्षमै ढल्यो, कांग्रेसले नेतृत्व पायो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *