चुनाव जित्नेमा ढुक्क छु : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् ।

महोत्तरी–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।

उनले भने, “हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दोलन जारी रहनेछ ।”

अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन । आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनकाे भनाइ छ ।

आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उनकाे भनाइ छ । हालको पाँचदलीय सत्तागठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन जनाएका छन् ।

महोत्तरी–३ मा यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि ९९ हजार नौ सय ३० मतदाता छन् । निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर