प्रतिगमनकाे खतरा रहेसम्म गठबन्धन कायम रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षलाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन्।

गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकांक्षा पूरा गर्ने बताए।

काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारूढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिए।

मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताए। विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उल्लेख गर्दै उनले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा सत्ता गठबन्धन एकढिक्क भएको बताए।

काठमाडौँ–८ मा आफूले सुरू गरेका कयौं योजना निरन्तरताका लागि उम्मेदवार बनेको उनको भनाइ थियो। मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए।

सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर