नेपालमा नानो युरिया मलको बिक्री सुरु

नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गरे ।

इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इण्डियाले उत्पादन गरेको सो मललाई ‘सीजी–आईएफएफसीओ’ नाम दिइएको छ । सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नेपालमा नानो युरिया मल भित्र्याइएको बताए ।

नानो प्रविधिमा आधारित नानो युरिया सूक्ष्म तरल मल भएको बताइएको छ । यसले बिरुवाको वृत्ति विकासका लागि आवश्यक पर्ने पोषक तत्त्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ । नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ ।

१ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्न सकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुई पटक छर्किनुपर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *